Listen Live

मिर्गे गाविसको कार्यालयमा तालवन्दि भएको ३ दिन, ताला खुल्ने संकेत छैन


माघ २८÷मिर्गे
दोलखाको मिर्गे गाउँ विकास समितिको कार्यालयमा लगाइएको ताला तिनदिनसम्म खुलेको छैन । गाविसको कार्यालयबाट वितरण गरिने विभिन्न सेवा तिनदिनदेखि ठप्प हुँदा सेवाग्राही भने मारमा परेका छन् । घरको नक्सा पास गरेवापत् कर असुलेको भन्दै दोलखाको मिर्गे गाविसबासीले सगरमाथा युवा क्लवको सहयोगमा गत बुधबार गाविसको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तर ताला लगाएको तिनदिन बितिसक्दा समेत ताला खुलाउने विषयमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयबासीको गुनासो छ । गाविसका स्थानीयबासी विश्व पाख्रिनले गाउँ परिषदले कर असुल्ने निर्णय गरेपनि आफूहरुलाई यसबारेमा केही जानकारी नभएकाले तालाबन्दी गर्नुपरेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ ः, गाविसको कार्यालयमा स्थानीयबासीले तिनदिनदेखि तालाबन्दी गर्दा सेवाग्राही मारमा परेपनि ताला खुलाउने र सेवा प्रवाह गराउने विषयमा सम्बन्धित निकायले कुनै पहल गरेको छैन, बरु हामीले नै गाविस सचिवलाई पटक पटक फोन गरेर समस्याको समाधान खोज्न आग्रह गरिरहेका छौँ ।
गाउँ विकास समितिको कार्यालयले पिल्लरवाला घरको नक्सा पास गरेवापत ७ सय ५०, ढुंगा माटोको ५ सय ५० र काठ र टिनको घरको ३ सय ५० का दरले रकम लिएको मिर्गेबासीको भनाई छ । घरको नक्सा पास गरेवापत् गाविसले अहिलेसम्म ७१ जनालाई कर असुलेको बताइएको छ ।
यता गाविस सचिव जयराम घिमिरेले गाविसको कार्यालयमा लगाइएको ताला खुलाउने बारेमा छलफल भइरहेको बताउनुभएको छ । घरको नक्सा पास गराएवापत् कर असुल्ने भनी गत वर्षको परिषद्मा स्थानीय राजनितिक दल, स्थानीयबासी लगाएतको उपस्थितिमा गरेको निर्णय अनुसार कर असुलेको भन्दै घिमिरेले स्थानीय राजनितिक दल, साथै स्थानीयबासीसँग वार्ता गरेर समस्याको समाधान खोज्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
गाविस सचिवले स्थानीय राजनितिक दलहरुसँग बसेर समस्याको समाधान खोज्ने प्रयास गरिरहेको बताएपनि स्थानीय राजनितिक दलका पदाधिकारीले भने वार्ता गर्न नसकेको बताएका छन् ।
नेपाली काग्रेस क्षेत्र नम्बर १ दोलखाका पूर्व क्षेत्रीय सभापति एवम् मिर्गेबासी बम बहादुर तामाङले गाविसको परिषद्ले निर्णय गरे अनुसार नै कर असुलेको बताउनुभएको छ । केही ब्यक्तिहरुले तालाबन्दी गर्देमा परिषद्बाट गरेको निर्णय फिर्ता नहुने उहाँको भनाई छ । कार्यालयमा लगाइएको ताला खुलाउने बारेमा भने अहिलेसम्म वार्ता नभएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी नेकपा एमाले मिर्गेका अध्यक्ष महेश पाख्रिनले पनि ताला खुलाउने बारेमा कुनै पहल नगरेको आरोप लगाउनुभएको छ । गाविसको कार्यालयमा तालाबन्दी हुँदा सम्पूर्ण कामकाज नै ठप्प भएपछि गाविस सचिवलाई फोनमार्फत वार्ताका लागि आह्वान गर्दा एक दुइ दिन पछि वार्ताको सयम मिलाउने प्रतिक्रिया दिएको पाख्रिनले कालिञ्चोक एफएमसँग बताउनुभयो । उहाँले कर असुली गर्ने निर्णय गरेको परिषदमा आफू भने उपस्थित नभएको बताउनुभयो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP