Listen Live

प्रहरी हिरासतमा रहेका केसीको मुत्यु भएको विषयमा छानविन हुने


२३ भदौ, दोलखा

प्रहरीको हिरासतमा रहेका रवि केसीको मुत्यु भएपछि यस विषय विवादित बनेको छ । शंस्कास्पद तरिकाले केसीको मुत्यु भएको भन्दै अभिभावकले छानविन गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यलयमा निवेदन दिएका छन् । भिमेश्वर नगरपालिका ५ का केसीको मुत्यु भएपछि अहिले उनको उमेरका कारण समेत विषय चर्चामा आएको छ । अभिभावकले उनको उमेर १४ वर्ष भनेका छन् भने प्रहरीले १८ वर्ष भनेको छ तर उनको वास्तविक उमेर अहिलेसम्म पत्ता लागेको छैन ।  

१६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई प्रहरी हिरासतमा राख्न नपाउने कानुनी व्यवस्था छ । केसीको वास्तविक उमेर १५ वर्ष मात्रै भएको पुष्टी भएमा दोलखा प्रहरीले गैरकानुनी रुपमा बालकलाई हिरासतमा राखेको ठहरीने छ । चोरीको आरोपमा भदौ १९ गते पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यलय दोलखाले हिरासतमा राखी अनुषन्धान गरिरहेको थियो । हिरासतमै रहेका बेला केसीले एक्कासी पेट दुख्यो भनेपछि प्रस्तावित चरिकोट अस्पताल लगिएको थियो, त्यहाँबाट डाक्टरले काठमाडौँ लानु भनेपछि राजधानी लैजाने क्रममा उनको हिजो बाटोमा ज्यान गएको थियो ।

शंकास्पद तरिकाले केसीको मुत्यु भएको भन्दै घटना विवादित भएपछि अभिभावकले मृतकको शव पोष्टमार्टम गर्न दिएका छैनन् । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्की भन्नूहुन्छ उनलाई पक्राउ गर्ने बेलामा उनको उमेर १९ वर्ष भनेपछि पक्राउ गरी अनुषन्धान गर्न राखिएको हो, तर अहिले यो घटना भएपछि उनको उमेर फरक बताईएको हो ।
 
यसैबीच घटनाको बारेमा छानविन समिति गठन गरी अनुषन्धान गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले सहायक प्रमुख जिल्ला अधिकारीको सयोंजकत्वमा समिति गठन गरि घटनाको बारेमा छानविन गर्ने बताउनुभयो । छानविनपछि आएको रिर्पोट र शवको पोष्टमार्टमपछि आएको रिर्पोटपछि मात्र घटनाको बारेमा केही जानकारी प्राप्त हुने प्रजिअ थापाले बताउनुभयो ।

यसैगरी जिल्ला बाल कल्याण समितिले पनि घटनाको बारेमा अनुषन्धान गर्ने भएको छ । अभिभाकहरुको भनाइ अनुसार केसीको उमेर १४ वर्ष भएको भन्दै प्रशासनमा निवेदन दिएपछि यस विषयमा अनुषन्धान गरिने बाल कल्याण समितिकी सूचना ब्यवस्थापन अधिकृत शान्ति खड्काले बताउनुभयो ।  

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP