Listen Live

तामाकोशी आयोजनाको सबै भन्दा लामो सुरुङ मार्गको निर्माण कार्य सम्पन्न

मंसीर ३, दोलखा


दोलखाको लामावगरमा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु भएको छ । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको तामाकोशी आयोजनाको सबै भन्दा लामो सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भएको हो । आयोजनाको सबै भन्दा लामो र समय लाग्ने ८.५ किलोमिटर लामो मुख्य सुरुङको भैंसेदेखि गोंगर डाँडासम्म करिब ५ किलोमिटर सुरुङ खण्डको खन्ने कार्यको ब्रेक थ्रु भएको आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।


सुरुङ मार्गको ब्रेक थ्रु घोषणा कार्यक्रममा उर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङ, उर्जा मन्त्रालयका सहसचिब दिनेश घिमिरे, प्रविण अर्याल, आयोजना कम्पनीका सञ्चालक, कर्मचारी संञ्चय कोष, नागरिक लगानी कोष तथा बीमा संस्थानका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


मुख्य सुरुङको ब्रेक थ्रु पछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणको इतिहासमा खुसीको दिन भएको प्रतिक्रिया दिनुभयो । सुरुङ मार्गको ब्रेक थ्रु भएसँगै आयोजनाको काम तोकिएको समयमा सम्पन्न गर्न बाटो खुलेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो ।  


यस अघि मुख्य सुरुङकै बाँधदेखि भैंसे अडिटसम्म ३ किलोमिटर सुरुङ खण्डको खन्ने कार्य २०७० सालमै सम्पन्नभएको थियो । सो सुरुङ खण्डको भुइँ ढलान अन्तिम चरणमा पुगेको जनाएको छ । त्यस्तै हाल ब्रेक थ्रु भएको सुरुङ खण्डमा पनि दायाँ बायाँ ढलानको काम भइरहेको बताइएको छ ।


आयोजनाको अत्यन्त कठिन कार्यको रुपमा रहेको दुई वटा ठाडो पेनस्टक स्याफ्टहरुमध्ये ३ सय ११ मिटर अग्लो माथिल्लो पेनस्टक स्याफ्ट गत भदौमा र ३ सय ७३ मिटर अग्लो तल्लो पेनस्टक स्याफ्ट २०७१ मागमा ब्रेक थ्रु भई दुबै स्याफ्टहरुको खन्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।


आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएकामा भूकम्प, नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने भएको छ । यहाँबाट वार्षिक दुई अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाको पहिलो वर्षको आम्दानी नौ अर्ब रुपैयाँ हुनेछ ।  २०७२ सालको विनाशकारी भूकम्पले गर्दा मुख्य सुरुङको निर्माण कार्य साढे एक बर्ष स्थगित भएको थियो ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP