Listen Live

कपाल फुल्यो भन्दैमा कहाँ बुढो भएँ र ? दिनको ७ भारी घाँस काट्छु ! पत्याउनुहुन्छ ?

कपाल फुल्यो भन्दैमा कहाँ बुढो भएँ र ? दिनको ७ भारी घाँस काट्छु ! पत्याउनुहुन्छ ?

उषा तामाङ ।

पौष १, दोलखा


बिहानको ४ बजे उठ्ने गाईवस्तुका लागि कुँडो पकाउने, ५ बजे भित्र भकारो सोहोर्ने, साढे ६ बजेसम्म दूध दुहिसक्नु दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ७ हावाका गंगाप्रसाद शर्माको दैनिकी हो ।

प्रत्येक दिन जसो गरिने यो कर्मले उहाँलाई आनन्द तुल्याउँछ । कालो कपाल भेटाउन गाह्रै पर्छ, तर उहाँको हिम्मत, जोश र जाँगर कुनै युवाको भन्दा कम छैन् । त्यसैले त उहाँले ४ वटा दुहुना गाई, २ वटा दुहुना भैँसी, एक हल गोरु,  सात–आठ वटा बाख्रासमेत पाल्नुभएको छ ।

केही वर्षअघि ५० भन्दा बढी बाख्रा उहाँले पाल्नुभएको थियो । प्रत्येक दिन हुने खर्च टार्न बाख्रा पालनबाट नसकिने भएपछि आम्दानीका लागि एक डेढ वर्ष नै कुर्नुपर्ने भयो । त्यसपछि दूध बेचेर दैनिक आम्दानी गर्ने सोच उहाँलाई आएको हो ।

जिल्लास्थित मर्सीकोर नेपाल र ग्रामीण उद्यम विकास केन्द्रले सहकारी मार्फत एउटा गाई किनिदिने भएपछि उहाँको त्यो सोच, सोचमा मात्रै सिमित भएन् । संस्थाले एउटा गाई किन्न १५ हजार रुपैयाँ दिएकोमा उहाँले ऋण खोजेरै २ लाख ५५ हजार रुपैयाँ तिरेर काठमाडौंबाट ५ वटा गाई किनेर ल्याउनुभयो । तर विडम्बना एउटा गाई गोठमा पु¥याउन नपाउँदै र्मयो । गाई मरे पनि उहाँले हिम्मत हार्नुभएन् ।

ऋण खोजेर सुरु गरेको व्यवसाय सफल होला कि नहोला भन्ने चिन्ताले नसताएको भने होइन, उहाँ भन्नुहुन्छ, ‘आँट्न त आँटीहालेपछि विजोग हुने हो की भन्ने चिन्ता त खुब लागेको थियो । तर त्यसो भएन । मैले सुरु गरेको काममा म खुशी छु ।’ वर्षा याममा त उहाँले दूध बेचेरै मासिक ३६ देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्नुभयो । आम्दानी अहिले पनि भइरहेको छ । दुध बेचेरै उहाँले मनग्य आम्दानी गरिरहनुभएको छ ।



२०१४ सालमा जन्मनुभएका शर्माले भन्नुभयो, ‘कपाल फुल्यो भन्दैमा म कहाँ बुढो भएँ र ? दिनको ७ भारी घाँस त अहिले पनि काट्छु, पत्याउनुहुन्छ ?’ शर्मासहित गाउँका केही किसानले उत्पादन गरेको दूध च्यामास्थित संकलन केन्द्रबाट सदरमुकाम चरिकोटको दूग्ध डेरीमा पठाउने गरिएको छ । शर्माले भने उत्पादन भएका दूधमध्ये आधा डेरी र बाँकी रहेको दूध गाउँमै सञ्चालित होटलमा बेच्नुहुन्छ । ३ लाख ७० हजारको लगानीमा उहाँले गोठ नै निर्माण गर्नुभएको छ । गोठमा अझै सुधार गर्न बाँकी भएको उहाँ बताउनुहुन्छ ।

गाईवस्तुका छेउमै जान नहुने जस्तो प्रवृत्ति देखाएर युवा विदेशिएको उहाँलाई मन पर्दैन । ‘आजकालका युवा स्वदेशमा केही छैन भन्दै विदेशिन्छन्, म बुढो भने स्वदेशमै सम्भव छ भनेर देखाउनकै लागि दिनरात  खटिरहेको छु । जुन पेशा गर्न चाहनुहुन्छ, त्यसैमा लागिरहनुस । सफल भइन्छ ।’

स्वदेशमै गरेर देखाउँछु भन्नेहरुका लागि राज्यले उचित संरक्षण र प्रोत्साहन गर्न भने नसकेको शर्माको बुझाई छ । ‘जनता धनी भए देश धनी हुन्छ भन्ने कुरा हाम्रो राज्यले बुझ्न सकेन । तर, पनि हामी जस्ता नेपाली देशलाई धनी बनाउन लागिरहने छौँ’, उहाँले थप्नुभयो ।


Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP